भारतको दिल्लीमा भेटिए मंकीपक्सका बिरामी

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पनि मंकीपक्सका बिरामी भेटिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ३१ वर्षीय युवकमा मंकीपक्सको संक्रमण देखिएको हो। उनी दिल्लीकै सिटी अस्पतालमा उपचाररत थिए। परीक्षणका क्रममा मंकीपक्स देखिएको जनाइएको छ।

योसँगै भारतमा मंकीपक्सका चार जना बिरामी भेटिएका छन्। यसअघि केरलमा तीन जनामा मंकीपक्स देखिएको थियो।

दिल्लीमा मंकीपक्स देखिएका युवकले अन्य देशको यात्रा गरेको नपाइएको जनाइएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। थप परीक्षणका लागि नमूना पुणेस्थित न्याशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शनिबार मात्रै मंकीपक्सका लागि संसारभर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। अहिलेसम्म ७५ देशमा १६ हजारमा मानिसमा मंकीपक्स देखिएको छ भने यसबाट पाँच जनाको मृत्यु भएको छ।

यो संसारभर फैलिएको डब्लूएचओले जनाएको छ। विशेष गरेर युरोपमा यसको जोखिम उच्च रहेको जनाइएको छ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस