काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी–२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो ।
नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो । जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अलस्टार्स छन् ।
बाँकी दुई टिमको घोषणा छिटै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताए । क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी÷भैरहवा र सुदूरपश्चिम थियो ।
क्यानले गत जेठमा नेपाल टि–२० लिगको आधिकारिक घोषणा गरेको थियो । जसअनुसार पहिलो संस्करण आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
तोकिएकै समयमा लिग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । नेपाल टी–२० लिगमा खेल्ने क्याटेगोरी एका खेलाडीको बेस प्राइज नै १५ लाख हुने भएकोले खेलाडीहरु भने उत्साहित छन् ।


