दाङ । खेलकुदकै एकमात्र ग्रासरुट कार्यक्रमको केन्द्रीय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलका स्पर्धा चलिरहेको बेला दाङकी निशा चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान रचिन् ।
सन् २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड राख्दै निशा अघि बढिन् । जुनियर स्पर्धाका खेलाडीले सिनियरतर्फको राष्ट्रिय कीर्तिमान बनाउनु निशाको निकै ठूलो उपलब्धी थियो ।
तुलसीपुर उपमहानगरपालिका १६ भेलाही गाउँकी १७ वर्षीया निशा एथलेटिक्सकी व्यावसायिक खेलाडी होइनन् । उनी बिना प्रशिक्षण राष्ट्रपति रनिङ शिल्डमा स्थानीय तह, जिल्ला, प्रदेश हुँदै पहिलोपल्ट काठमाडौं आएर दशरथ रंगशालामा दौडिएकी हुन् ।
फिल्ड विधामा नयाँ कीर्तिमान बनाएकी निशाले ट्र्याकमा पनि आफू सहभागी सबै स्पर्धामा स्वर्ण जितिन् । अर्थात् उनले राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जित्दा ३ स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
१ सय मिटर दौडमा उनको १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान हो । त्यस्तै निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेण्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरे ।
‘म तेक्वान्दो खेलाडी पनि हो । तेक्वान्दो नियमित खेल्थेँ । म टच ब्ल्याकबेल्ट हुँ । तर एथलेटिक्स चाहिं प्रतियोगिता हुँदा मात्र खेल्ने हो । मलाई पद्यमा चौधरी गुरुले प्रशिक्षण गराउनुभएको थियो । स्कुलमा चाहिं वसन्त वली गुरुले सिकाउनुभएको हो,’ निशाले भनिन् ।
१२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो । ६ कक्षा पढ्दादेखि नै यो प्रतियोगितामा सहभागी भए पनि स्वर्ण जित्न सकेकी थिइनन् ।
आठौं राष्ट्रिय खेलकुदमा ५ करोड खर्चेर निर्माण गरिएको सुविधासम्पन्न ट्र्याकसहितको बेलझुण्डी रंगशालामा निशाले अहिलेसम्म प्रशिक्षण गर्न पाएकी छैनन् । उनले भनिन्, ‘प्रतियोगिता हुँदा त्यहाँ खेल्ने हो । प्रतियोगिता आउने बेलातिर स्कुलमै खेल्ने हो ।’
यस संस्करणको राष्ट्रपति रनिङ शिल्डका लागि लुम्बिनी प्रदेशमा प्रारम्भिक छनोट प्रक्रिया असार १२ गतेदेखि सुरु भएको थियो ।
निशाले तुलसीपुर उपमहानगरस्तरीय सुरुवाती प्रतियोगिता जितेको पाँच दिनपछि जिल्लास्तरीय प्रतियोगिता खेलिन् । त्यसको पाँच दिनपछि लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता जितेर काठमाडौं आएकी हुन् । काठमाडौंमा भएको केन्द्रीय प्रतियोगिता मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न भएको छ ।


