![](https://pradeshpatra.com/wp-content/uploads/2022/07/IMG-20220713-WA0001.jpg)
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको दमारबेशीमा पुल नहुदाँ विद्यार्थी विद्यालय जानबाट बञ्चित हुनेगरेका छन् । खोलामा पुल नहुँदा बर्खायाममा नगरपालिका लगायतका आसपास क्षेत्रमा आवत जावत बन्द हुनेगरेको छ ।
शितगङ्गा नगरपालिका –७ जलुके दमारबेसीमा पर्ने सितखोला भएर जाने स्थानीय बाहेक कक्षा ६ देखि कक्षा १२ सम्म स्कुल पढ्न प्युठान र लामातालबाट दैनिक २० देखि ३० जना विद्यार्थी आवत जावत गर्ने शितगंगा नगरपालिका ७ का झरना पुलामीले बताइन् । कयौं पटक बच्चालाई बोकेर खोला पुग्दा बाढी आउँदा विद्यालय पुर्याउन नसकेको उनको भनाइ छ । विद्यार्थी बर्खायामको समय कहिले १० दिनसम्म लगातार विद्यालय जान नपाएको स्थानीयको गुनासो छ ।
सोही खोला तरेर कक्षा १ देखि कक्षा ५ सम्म पढ्न खैरेनीबाट स–साना बच्चाहरु दैनिक खोला तरेर ऐरावत आधारभुत बिद्यालयमा जानुपर्ने बाध्यता रहेको छ । बच्चाहरुलाई खोलाबाट वारिपारी लैजान दैनिक अभिभावक जानेगरेको भएपनि कुनै बेला अभिभावक समेत खोला तर्न नसक्ने अवस्थामा हुदाँ खोला पस्दा दुर्घटना हुनसक्ने स्थानीय झलक केसीले बताए ।
शितगंंगा नगरपालिकाका उपप्रमुख गीता भाटले स्थानीय जनताको समस्याबारे आफुलाई पनि जानकारी भएकाले समाधानको उपायबारे प्रयास भइरहेको उनले बताइन् ।