
बिजौरी । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अवलोकन गरेका छन् । हाल चिकित्सालयको ओपिडिमा दैनिक एक सय बिरामीहरु सेवा लिइरहेका छन् । बहिरङ्ग सेवाबाट सञ्चालन भइ २०५८ सालमा १५ शैयामा रहेको हस्पिटलको स्तरोन्नति हुँदै ३० शैयामा पुगेको छ ।
आयुर्वेद चिकित्सालयमा लुम्बिनी प्रदेशका जिल्लालगायत सल्यान, जाजरकोटबाट पनि बिरामीहरुले आउने गरेको प्रादेशिक आयुर्वेद चिकित्सालयका मेसु सन्तोष कुमार ठाकुरले जानकारी दिए ।

अन्तरङ्ग सेवामा ३० शैया रहेता पनि कहिलेकाँही बिरामीहरु ३५/४० जनासम्म पुग्ने भएकोले वेडको व्यवस्थापन गर्न निकै गाह्रो भएको मेसु ठाकुरले बताए । हाल अस्पतालले पञ्चकर्म, ल्याव, रेडियोग्राफी, इसिजी, युएसजी, फिजियोथेरापी, शल्यचिकित्सा, सामान्यचिकित्सा लगायतका सेवाहरु दिइरहेको छ ।
साथै आगामी वर्षदेखि स्त्री प्रसुती सेवा, शालक्य र पञ्चकर्मको प्रधानकरणलाई नमुनाको रुपमा पञ्चकर्म सेन्टर स्थापना गरेर त्यसबाट स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी व्यक्तिको रोगबाट उन्मुक्ति बनाउने सेवा दिने उनले बताए ।

ठाकुरले पञ्चकर्मको माध्यमबाट दाङलाई एउटा प्रादेशिक हबकोरुपमा विकास गर्न सकिने बताए । अस्पतालको योजनाअनुसार आगामी वर्षमा सर्जिकल भवनको निर्माण गरिने रहेको छ । जसको लागि संघीय सरकारले २ करोड रुपौया शसर्त अनुदान उपलब्ध गराएको छ । अस्पताल बिकाश समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतले अहिले आयुर्वेद प्रति जनताको अत्यधिक बिश्वास बढेकाले राज्यले यसलाई अलि बढी ध्यान दिन आग्रह गरेका थिए ।
मेसु ठाकुरले स्वास्थ्य राज्यमन्त्री केसीलाई स्वास्थ्य मन्त्रालयकोरुपमा रहेको मन्त्रलायलाई आयुर्वेद मन्त्रालयकोरुपमा विकास गरि आयुर्वेद क्षेत्रलाई माथि उठाउन आग्रह गरेका थिए ।

चिकित्सालय अवलोकनका क्रममा राज्यमन्त्री केसीले नेपालमा पाइने जडिबुटीहरुको अनुसन्धान गर्ने कार्य बेलझुण्डीमा पनि गरिन्छ त्यसलाई अझ व्यवस्थित गर्न र आयुर्वेद औषधी यहीबाट उत्पादन गर्न संघीय सरकार र आफुले भूमिका खेल्ने बताए ।
साथै उनले संघीय सरकारबाट ३० वेडमा रहेको अस्पताललाई जतिसक्यो छिटो १०० वेडको बनाउने बताए ।
हेर्नुहोस् भिडियो