अब ट्विटरमा २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने फिचरको परीक्षण सुरु गरेको छ ।

हालसम्म केवल अधिकतम २८० अक्षर वा चिह्नहरूसम्मको ट्वीट गर्न सकिने सुविधा रहेकोमा ट्वीटरले प्रयोगकर्ताको आवश्यकतालाई दृष्टिगत गरी २५ सय शब्दसम्मको ‘नोट’ ट्वीटरमा सेयर गर्न सकिने फिचर सुरुवात गरेको हो ।

ट्वीटरमा लामो सूचनाको तस्वीर पोस्ट गर्ने र विस्तृत सूचना पढ्नका लागि ट्वीटरबाट बाहिर निस्किनुपर्ने बाध्यतामा रहेका प्रयोगकर्तालाई मध्यनजर गरी नोट फिचर सुरु गरिएको ट्वीटरले जनाएको छ ।

२५ सय शब्दसम्मको नोट ट्वीट गर्न सकिने फिचरलाई ट्वीटरले आगामी २ महिनासम्म क्यानडा, घाना, बेलायत तथा अमेरिकाका केही प्रयोगकर्तामाझ परीक्षण गर्नेछ ।

यो नयाँ फिचरले ट्वीटर प्रयोगकर्ताहरुलाई ट्वीटरभित्रै रहेर लामो सामग्रीसमेत पढ्न पाउने सुविधा प्रदान गर्नेछ । यसमा प्रयोगकर्ताले ट्वीटमा सुरुमा हेडलाइन देख्नेछन् र दिइएको लिंकमा क्लिक गरेसँगै ट्वीटरभित्रै विस्तृतमा उक्त ट्वीट (नोट) पढ्न सक्दछन् ।

यसबाट प्रयोगकर्ताले ट्वीटरभित्र तथा बाहिर पढ्न सकिने लामो निबन्धहरुमा जीआईएफ, फोटो तथा अन्य फिचरहरु समेत हाल्न सक्नेछन् ।

प्रयोगकर्ताले प्रकाशित गरिसकेको नोटलाई पुनः सम्पादन समेत गर्न सक्ने सुविधा ट्वीटरले दिएको छ ।
एजेन्सी

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस