अविरल वर्षाका कारण पोखराको हेम्जामा ३०० घर डुबान

पोखरा । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए ।

पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा परेको छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले जानकारी दिए ।

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय वासिन्दा सुरक्षित स्थानतर्फ गएका थिए । शुक्रबार राति सुरक्षित स्थानतर्फ गएकाहरु स्थानीय विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताए ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस