काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । नेपालले एसिया कपमा पुग्नका लागि यो लक्ष्य पूरा गर्नुपर्नेछ ।
अस्मिना कर्माचार्यले शानदार लबिङ गर्दै ५ विकेट लिएपछि नेपालले एक बल अगावै युएईलाई ८१ रनमा अलआउट गरेको हो ।
च्याम्पियन्सिपको फाइनल पुग्ने दुई टिम एसिया कपमा छनोट हुनेछन् र एसियाका टेष्ट राष्ट्रसँग खेल्ने अवसर पाउनेछन् ।
मिडियम पेसर अस्मिना कर्माचार्य तथा स्पीनहरु सीता राना मगर र इन्दु बर्माले उत्कृष्ट बलिङ गरेपछि नेपालले युएईलाई कम स्कोरमा रोकेको हो ।
अस्मिनाले ३.५ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चेर ३ तथा सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविनाले विकेट नलिए पनि ४ ओभरमा १२ रन मात्र खर्चिइन् ।
युएईका लागि आठौं नम्बरमा ब्याटिङ गरेकी वैस्नभी महेशले सर्वाधिक १६ रन बनाउदा ओपनर इशा ओझाले १५, कप्तान द्धायँ मुगलले १४ र खुशि शर्माले १२ रन जोडिन् ।