राप्ती स्वास्थ्य प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल अप्रेसन

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यकृया भएको छ । शरीरका विभिन्न भागमा फैलदै गरेको आँखाको क्यान्सरको जोखिम मोलेर आँखा रोग विशेषज्ञको टोलीले शल्यकृया गरेका हुन् । यो अप्रेसन साबिक राप्ती अन्चलमै पहिलो हो ।

आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहेका तुलसीपुर १४ निवासी प्रेमबहादुर वलीलाई पुरै वेहोस बनाएर आँखाको क्यान्सरको अप्रेसन गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । विरामी वलीको अर्को आँखा नहुँदा दृष्टिविहीन बन्न पुगेका छन् ।

भरतपुर क्यान्सर अस्पतालसहित विभिन्न अस्पतालहरुमा विरामीको उपचार हुन नसकेर विरामी राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहा कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा. सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, असिस्टेण्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा. कुन्दन घिमिरेहरुको टोलीले प्रतिष्ठानमा विरामीको आँखाको गेडिलगायत अन्य क्यान्सर निकालेर अप्रेसन गरेको हो ।

विरामी विभिन्न अस्पतालबाट रिफर हुँदै आएको र हाइ रिस्कमा हुँदा हुँदै पनि आफुहरुले प्रतिष्ठानमा सफल अप्रेसन गरेको अप्रेसनमा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताए । विरामी रगतको मात्रा कमि, क्यान्सरको औषधि सेवन गरिरहेको, रगतमा प्रोटिनको कमि भएको अवस्थामा अस्पतालमा भर्ना भएको र पछि २ पोका रगत चढाई रगतको मात्रा बढाएर जेनरल एनेस्थेसियाको सहयोगमा जटिल प्रकृतिको अप्रेसन गरिएको उनले जानकारी दिए ।

आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यकृया भए पनि पुरै वेहोस बनाएर शल्यकृया हुँदैनन् । प्रतिष्ठानमा एनेस्थेसियासहीतका चिकित्सक र पुरै अत्याधुनिक अप्रेसन कक्ष भएकाले पनि अप्रेसन गर्न सहज भएको डा. रसाइलीले बताए । आँखाको क्यान्सर फैलिए पश्चात विरामीको दिमागमा र अन्य शरीरका भागहरुमा असर गर्ने भएकाले विरामीको जीवन बचाउनका लागि अप्रेसन गरिएको प्रतिष्ठानले जनाएको छ ।

पछिल्लो समयमा प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरु थपिदै जानुका साथै अत्याधुनिक अप्रेसन कक्षहरु सञ्चालमा आएपछि सामान्यदेखि जटिल अप्रेसनहरु हुँदै आएका छन् ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस