मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डे संलग्न बाल यौन दुरुपयोगको कसूरमा चाहिँ पाण्डेलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।

गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वजिनिक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको उनको भनाइ थियो ।

पीडितको पक्षमा आन्दोलन चर्किन थालेपछि प्रहरी मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस