लभ्ली डाँडामा विश्वकर्मा बाबा

तुलसीपुर । ठिक्कको गर्मी, ठिक्कको सितल, उज्यालो आकाश देखिने मनोरम डाँडोमा बुधबार विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । तुलसीपुर—सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका—३ राम्री नजिक सडक किनारामा त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिले विश्वकर्मा बाबाको मन्दिर निर्माण गरेको हो । स्थानीयले मन्दिर निर्माण स्थललाई लभ्ली डाँडाका नामले पुकार्छन् ।

करीव ३ वर्ष अघि सो क्षेत्र नजिक घोराही स्थित शहिद कृष्णसेन इच्छुक स्मृति प्राविधिक शिक्षालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी विद्यार्थीहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको अत्यन्तै जोखिम क्षेत्रमा दुर्घटना न्युनीकरणको अभियान स्वरुप दुर्घटनास्थल नजिक विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको समितिले जनाएको छ ।

साविक राप्ती सार्वजनिक यातायात व्यवसायी समितिदेखि त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिसम्म आइपुग्दा सो संस्थाले राजमार्ग तथा सहायक राजमार्ग र प्रालिको कार्यालय परिसर गरी जम्मा ६ स्थानमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिसकेको छ । घोराही—लमही सडक खण्डको दुर्घटनाको जोखिम रहेको क्षेत्र मसौट उकालोमा पनि यस्तै गरी विश्वकर्मा बाबाको मन्दिर निर्माण भैसकेको छ भने तुलसीपुर अमिलिया सडक खण्डमा पनि विश्वकर्माको मन्दिर त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले निर्माण गरिसकेको छ । अब तुलसीपुर—हापुरे—सुर्खेत राजमार्गमा पनि विश्वकर्मा बाबाको मन्दिर निर्माण हुने प्रालिले जनाएको छ ।

गत माघ महिनाको २३ गते त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात व्यवसायी प्रालिका प्रबन्ध निर्देशक पुस्कर धितालले शिलान्यास गरेको सो विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन बुधबार प्रालिका अध्यक्ष शुरेश हमालले गरेका हुन् । मन्दिर उद्घाटन गर्दै अध्यक्ष हमालले भगवानप्रतिको आस्था र श्रद्धाका कारण मात्रै पनि हरेक व्यक्तिमा खराब विचार उत्पन्न हुन नसक्ने र सकारात्मक सोचको विकास हुने भन्दै यसले दुर्घटना न्युनीकरणमा पनि सकारात्मक भावनाको विकास हुने बताए ।

‘जहाँ भगवनको श्रद्धा हुन्छ, त्यहाँ खराब सोंच उत्पन्न हुनै सक्दैन, ताकि यसले चालकलाई सधैं सचेत र सहि मार्गमा डो¥याउँछ’, हमालले भने, त्यसैले दुर्घटनाको उच्च जोखिम हुने क्षेत्रमा प्रालिले यस्ता मन्दिरहरु निर्माण गरेको छ ।

लभ्ली डाँडाजस्तै मन्दिर पनि सुन्दर छ । निर्माणमा उदारता देखिएको छ । बटुवालाई पिउने पानीको व्यवस्थापनसँगै मन्दिरसम्म उक्लनका लागि सहज पैदल मार्ग निर्माण हुने पनि प्रालिले जनाएको छ । मन्दिर उद्घाटनका क्रममा अध्यक्ष हमाल, प्रबन्ध निर्देशक धितालसँगै मन्दिर निर्माण समितिका सदस्य तथा प्रशासनिक सचिव मीन प्रकाश शर्मा(प्रकाश भट्ट), निर्माण समिति संयोजक प्रितम श्रेष्ठ, मदन वली, दिपक बुढाथोकी, श्रवण कुमार आचार्य, भिमसेन लहरे, निर्मल डाँगी लगायतको उपस्थिति रहेको थियो । मन्दिर निर्माणका लागि करीव अढाइ लाख रुपैया खर्च भएको बताइएको छ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस