लेदो होइन सफा र स्वच्छ पानी (भिडियोसहित)

बेलझुण्डी । बेलझुण्डी खानेपानी क्षेत्रका जनप्रतिनिधिहरुले उपभोक्तालाई अब स्वच्छ पानी उपलव्ध गराउन आग्रह गरेका छन् । बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शनिबार जनप्रतिनिधिहरुका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले संथाका नेतृत्वलाई यस्तो आग्रह गरेका हुन् ।

स्वागत सम्मान तथा बधाई कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डाँगी वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वली र तुलसीपुर उपमहानगरपालिका १९ का अध्यक्ष प्रेमनाथ योगी तथा अन्य निर्वाचित वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिंदै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जनतालाई स्वच्छ पानी पाउनुपर्ने संवैधानिक हकलाई कार्यन्वयन गर्न खानेपानी संस्थाहरु गम्भीर हुनुपर्ने बताए । ‘स्वच्छ पानी पाउनु नागरिकको मौलिक अधिकार हो, अब मुहानदेखि मुखसम्म स्वच्छ पानी उपलव्ध गराउने सवालमा संस्था कटिबद्ध भएर लाग्नु आवश्यक छ’, प्रमुख अतिथि खड्काले भने ।

जिल्लाभरका खानेपानी उपभोक्तालाई एकीकृत गरी सहलगानीमा खानेपानीका ठुला योजना ल्याउन आफुले उहिल्यैदेखि पहल गर्दै आएको बताउँदै बेलझुण्डीमा पनि सहलगानीको परियोजनामा आफुले अर्थपूर्ण भूमिका निर्वाह गरेको पनि मेयर खड्काको दावी थियो । उनले आफ्नो विशेष आग्रहमा बेलझुण्डी खानेपानी माताहत सहलगानी योजना सञ्चालनमा ल्याउन तुलसीपुर उपमहानगरपालिकाबाट ऋण समेत उपलव्ध गराएको बताउँदै अब उपभोक्ताबाट उठाएर नगरपालिकाको ऋण भुक्तानी गर्न पनि मेयर खड्काको आग्रह थियो ।

आफुहरुले एक घर एक धारा भन्ने चुनावी एजेण्डामा पनि राखेकाले अब जनप्रतिनिधिका हिसावले पनि शुद्ध र सफा पानी उपलव्ध गराउने सन्दर्भमा उपमहानगरपालिका गम्भीर रहने पनि बताए । बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था वैधानिक रुपमा म्याद सकिएको संस्था भएको स्मरण गर्दै मेयर खड्काले उपयुक्त समयमा अनुमोदन हुन पनि नेतृत्वहरुलाई आग्रह गरे ।

बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान विगत दुई वर्षदेखि चुनढुंगा उत्खनन्कै कारण धमिलो भएको थियो । त्यहि धमिलो पानी बोकेर शुद्ध र सफा पानीको माग गर्दै दुई वर्ष अघि बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताहरु तुलसीपुर उपमहानगरपालिकामा डेलिगेशनमा समेत गएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि स्यानी चौधरीले मानव शरीरमा कम्तिमा ७० प्रतिशत सरुवा रोगको संक्रमण पिउने पानीकै कारण फैलने बताउँदै उपभोक्तालाई सफा र स्वच्छ पानी उपलव्ध गराउनका लागि आग्रह गरिन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डाँगीले जनतालाई स्वच्छ र सफा खानेपानीका लागि वडा सरकार गम्भीर भएर लड्ने बताए ।

साथै मुहान संरक्षणका सन्दर्भमा उत्तरी महाभारत क्षेत्रबाट चुनढुंगा उत्खनन्को काम तत्काल रोक्न पनि उनको सुझाव थियो । त्यसैगरी उनले पानीको संश्लेषण बढाउन नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्न र चुनढुंगा उत्खनन्को सञ्चालन अनुमति रोक्न पनि उनको आग्रह थियो ।

कार्यक्रममा अर्का वडाध्यक्ष थलराज पुरीले बेलझुण्डी खानेपानीलाई मानपुर क्षेत्रसम्मै विस्तार गर्न आग्रह गर्दै पानी सामान्य प्रशोधन गरेर मात्रे उपभोक्ताका धारामा पु¥याउन पनि पुरीको आग्रह थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले फोहर पानीको आवाज उठाउने आफुहरु स्वयम जनप्रतिनिधि भैसकेकाले स्वच्छ पानी उपलव्ध गराउने सवालमा आफुहरु सधै सकारात्मक बन्ने अभिव्यक्ति दिए ।

त्यस्तै वलीले नेपाल सरकारको एक घर एक धारा नीतिलाई कार्यान्वयनमा ल्याउन पनि संस्थालाइ आग्रह गरे । वडा नंवर १९ का अध्यक्ष प्रेमनाथ योगीले बेलझुण्डी खानेपानी योजना अन्तर्गत डिप वोरिङका योजना असफल भएकाले मुहान संरक्षणमा संस्था गम्भीर हुनुपर्ने बताउँदै मुहान संरक्षणका सवालमा वडाले पनि केही कार्यक्रम राख्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले नकारात्मक सोचको अन्त्य गरी आयोजनालाई सफल बनाउन सबै उपभोक्ताहरु एक हुनुपर्ने सुझाव दिए ।

बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कम्तिमा २ हजार भन्दा बढी उपभोक्ताहरु रहेका छन् । सरकारले यो वर्ष सो आयोजनामा सहलगानी आयोजना सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको खानेपानी डिभिजनको ७० प्रतिशत रकम तथा उपोक्ताहरुले ३० प्रतिसत रकम उठाउने गरी करीव ३४ करोड रुपैयाको लागतमा सहलगानी आयोजना निर्माणका क्रममा छ ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रदीप गौतमले सहलगानी आयोजनाको करीव ७५ प्रतिशत निर्माणको काम सम्पन्न भैसकेको बताए । रिजर्भ ट्यांक निर्माण तथा नयाँ पाइपलाइन विच्छाउने काम समेत अन्तिम चरणमा पुगेको तथा आयोजनाको क्षेत्र समेत विस्तार भएको उनले बताए ।

साथै सहलगानी आयोजना भएकाले उपभोक्ताहरुले यथाशीघ्र रकम उठाउन पनि उनको आग्रह थियो । बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्य देवा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य पुस्कर थापाले गरेका थिए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस