दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी सलिना चौधरीले धरान उपमहानगरपालिकाका स्वतन्त्रबाट नव निर्वाचित मेयर हर्क साम्पाङको उत्कृष्ट स्केच बनाएकी छिन् ।
त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा आर्किटेक्चर इन्जिनियरिङ अध्ययन गरिरहेकी सलिनाले मेयर साम्पाङको स्केच निर्माण गरेकी हुन् ।
क्याम्पसले आयोजना गरेको एक प्रदर्शनी कार्यक्रममा मेयर साम्पाङलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेपछि मायाको चिनो प्रदान गर्नका लागि मेयरको स्केच निर्माणको लागि क्याम्पसले आर्किटेक्चर इन्जिनियरिङका विद्यार्थीलाई स्केच निर्माणका लागि सुचना सम्प्रेषण गरेसँगै दर्जनौँ विद्यार्थीहरुले स्केच तयार पारेर क्याम्पस प्रशासनमा बुझाएका थिए ।
ती निर्माण गरिएका स्केचहरु मध्येबाट सर्वोत्कृष्ट स्केचका रुपमा सलिनाले निर्माण गरेको स्केच छनौट भएको थियो ।
कार्यक्रममका प्रमुख अतिथि समेत रहेका मेयर साम्पाङलाई क्याम्पस परिवारले मायाको चिनोको रुपमा सलिनाले निर्माण गरेको स्केच प्रदान गरेको हो ।
सलिना गोरखा इन्टरनेस्नल पब्लिक सेकेन्डरी स्कुलबाट १२ कक्षा पास गरेर आइओइ इन्ट्रान्स २०७८ मा आर्किटेक्चर इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा छनौट भएपछि त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा पहिलो सेमेस्टरमा अध्ययनरत छिन् ।