शिवसवरीधाममा ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन उद्घाटन

सिसहनियाँ । शिवसवरीधाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाको नवाैं स्थापना दिवसको अवसरमा विश्व शान्तिका लागि ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन उद्घाटन गरिएको छ । शनिबार उद्घाटन समारोहमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सबैको मन शान्ति भए मात्र विश्व शान्ति हुने बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले नेपाल सहित विश्वभर जुन किसिमको अशान्ति छ, त्यसका लागि आफुबाटै शान्ति कायम गर्न मन बदल्न जरूरी रहेको पनि बताएका छन् । मनमा शान्ति नहुँदा सम्म परिवार, समाज र देशमा शान्ति हुन नसक्ने बताएका छन् ।

अध्यक्ष विष्टले शिवसवरी धामको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने समेत उनले बताए । त्यस्तै उनले राप्ती गाउँपालिका ९ देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिरको विकासका लागि केवुलकार नभए जिपलाई बनाउने बताएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, शिवसवरी धाम धार्मिक केन्द्रकी संरक्षक तथा गुरु शिवलक्ष्मी चाैधरी, प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेल, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवीप्रसाद चाैधरी, नेपाली कांग्रेस राप्ती गाउँपालिकाकी उपसभापति श्यामा रावत, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका सचिव तुला गिरीले शुभकामना व्यक्त गरेका थिए। त्यस्तै कार्यक्रममा रणप्रसाद सुवेदी, माधव आचार्य, महेश बेल्वासे, दुर्योधन पाण्डे, बासुदेव न्याैपाने, दर्शन राकेश पटेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्य तथा केन्द्रका उपाध्यक्ष हरिबहादुर बुढाक्षेत्रीको विषयवस्तु प्रवेशबाट सुरू भएको कार्यक्रमको सञ्चालन ओमप्रकाश गुप्ताले गरेका थिए ।

जेठ २५ गते सम्म सञ्चालन हुने कार्यक्रममा दैनिक विहान ८ बजे देखि ९ बजे सम्म पुजापाठ, विहान १० देखि ४ बजे सम्म र बेलुका ८ देखि राति १० बजे सम्म प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेलद्वारा संगितमय कथा बाचन, भजनकृतन, झाँकी, आरती रहने छ ।

कार्यक्रममा ५ हजार बढी दान गर्नेलाई खाँदा, फूलमाला र सम्मान पत्रले सम्मान गरिने छ भने आजिवन सदस्यता लिन चाहनेका लागि रू ३ हजार बुझाएर सदस्य बन्न सकिने बताइएको छ ।

आज भन्दा ९ वर्ष अगाडि आफुमा दैवीय शक्ति प्राप्त भएको बताउँदै यहाँ आउने जो कोहीले पनि गंगा स्नान र पुजापाठ गरे आफुले चिताएको कुरा पूरा हुने र विभिन्न किसिमका रोग व्याधी सन्चो हुने गरेको बताइएको छ ।

सो धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस