टावर निर्माण स्थलको अध्यक्ष बस्नेतद्वारा अनुगमन

शान्तिनगर। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगर वडा नम्बर ३ को गनारी स्थित निर्माण हुन लागेको नेपाल टेलिकम टावरको विहीबार अनुगमन गरेका छन् । आफुले निर्बाचनका बेला पहिलो प्राथमिकता टावर निर्माण गर्ने प्रतिवद्धता गरेकोमा त्यो अहिले पूरा हुन लागेको बताए।

टेलिकमको टावरको काम बुधबारदेखि सुरु भएको छ र असार मसान्तभित्र काम सम्पन्न हुनेछ। टावर सञ्चालन भएपछि यस क्षेत्रका जनताहरुका लागि फोन, नेट प्रयोग गर्न सहज हुने अध्यक्ष बस्नेतले बताए ।

टावरलाई थ्री फेज विद्युतको आवश्यक पर्छ त्यो पनि तत्कालै उपलब्ध हुन्छ र टावर साउनसम्म सञ्चालनमा आउने बस्नेतले बताए । त्यस्तै नेपाल टेलिकम फोरजी प्रोजेक्ट मध्यपश्चिम उपप्रबन्धक प्रेम क्षेत्रीले शान्तिनगर गाउँपालिकामा दुई ओटा टावर निर्माण गर्न लागिएको र जस अन्तर्गत शान्तिनगरको ३ र २ नम्बर वडा, दंगीशरण वडा नम्बर ६ सिम्ठानामा पनि टावर निर्माण कार्यलाई अगाडि बढाइएको बताए ।

उपप्रबन्धक क्षेत्रीले भारतीय आरएस इन्फ्रा कम्पनीले उक्त निर्माण कार्यको ठेक्का लगेको बताउँदै समयमै काम सम्पन्न गर्ने कुरामा आफू बिस्वस्त रहेको बताए । शान्तिनगरको टावरको उचाइ २५ मिटरको हुनेछ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस