मनसुन नेपाल भित्रिने तयारीमा

काठमाडौं । यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान मौसमविदको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भने, ‘भारतको केरलामा मनसुन सुरु भइसकेको छ । अबको केही दिनभित्रै नेपाल भित्रिने सम्भावना छ ।’

नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ तारिख हो । पूर्वी नेपालबाट मनसुन भित्रिएर पश्चिम नेपालबाट बाहिरिने गर्दछ ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा नेपालका अधिकांश भागमा सरदरभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ ।

सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् । यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भए पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले जानकारी दिइन् ।

यो वर्ष धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस