
काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ ।
अन्धकार र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको उनले बताए । सिलवालले भने, ‘भोलि बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु हुनेछ ।’
उनका अनुसार सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । अधिकारीहरुका अनुसार विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका क्याप्टेन प्रभाकर घिमिरेको फोनमा विमान सम्पर्कविहीन भएपछि पनि सम्पर्क भएको थियो । नेपाल टेलिकमको उनको नम्बर ट्रेस गर्दा मोबाइलको लोकेसन टिटी लेकतिर देखाएको थियो । त्यसैले खोजीलाई त्यतै केन्द्रित गरिएको उनको भनाइ छ ।
तारा एयरका अनुसार पनि विमान मुस्ताङको न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि हुनसक्ने आशंका गरिएको छ ।
नेपाली सेनाले सम्पर्कविहीन भएको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको थियो । सैनिक प्रवक्ता नारायण सिलवालले बेलुकीसम्म त्यस ठाउँमा सैनिक टोली पुग्न नसकेको बताए । उनले भने, ‘सम्भाव्य ठाउँमा खोजी जारी छ, यद्यपि अहिलेसम्म भेटिएको छैन ।’ सम्पर्कविहीन भएको ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालक दलका ३ सदस्य पनि छन् । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।