राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक वृद्धि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।

मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ ।

सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमसः २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो ।

क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमसः ५० र ४० हजार रुपैयाँ पाउँछन् ।

यस्तै महिला क्रिकेट टोलीका खेलाडीको पनि पारिश्रमिक बढाइएको छ । ए र बी ग्रेडका खेलाडीको पारिश्रमिक मासिक ६ हजारका दरले बृद्धि गरिएको छ । सी ग्रेडका खेलाडीको ५ हजारका दरले बढेको छ ।

नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमसः १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

क्यानले क्रिकेट मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगी र मैदान पीच क्यूरेटरको पारिश्रमिक पनि क्रमसः ५ र ६ हजारका दरले बृद्धि गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस