
चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको ज्यान लिएको छ ।
हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।
भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०÷५१ वर्षकी महिलाको घटनास्थलमा नै मृत्यु भएको हो ।
अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा विशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए ।
राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढलेको थियो ।