काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरबाट करिव डेढ लाख जनाको मनोनयन परेको छ ।
निर्वाचन आयोगले मनोनयन दर्ताको भोलिपल्ट मात्रै देशभरबाट परेको मनोनयनको अद्यावधिक विवरण तयार पारेको छ । अधिकांश स्थानबाट विवरण आए पनि छिटफुट रुपमा तथ्यांक संकलन गर्ने क्रम अहिले पनि चलिरहेको आयोगले जनाएको छ ।
आयोगको विवरणअनुसार, सबैभन्दा बढी प्रतिस्पर्धा मेयमा देखिएको छ । औसतमा एउटा पालिकामा मेयरमा १२ जनाको प्रतिस्पर्धा छ । त्यसपछि गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा छ । अनि दोस्रो पदहरु उपमेयर र उपाध्यक्षमा प्रतिस्पर्धा देखिन्छ ।
संख्याको हिसावले वडा सदस्य पदमा सबैभन्दा बढी उम्मेद्वारी परेको छ ।
दलगत रुपमा हेर्ने हो भने नेकपा एमालेले सबैभन्दा बढी स्थानीय तहको प्रमुख पदमा उम्मेद्वारी दिएको छ । उसले २ सय ८८ गाउँपालिकाको अध्यक्ष र ४ सय ४६ नगरपालिकाको प्रमुखमा उमेद्वारी दिएको हो । दुवै जोड्दा यो संख्या ७ सय ३४ हुन्छ । उसले १९ वटा स्थानीय तहमा मात्रै प्रमुख दलमा दावी नगरेको देखिन्छ ।
त्यसपछि नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा मनोनयन दर्ता गर्ने दल बनेको छ । कांग्रेसले उसले २ सय ६३ गाउँपालिकाको अध्यक्ष र ३ सय ८२ नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएको हो ।
दुवै जोड्दा यो संख्या ६ सय ४५ हुन्छ । गाउँपालिका र नगरपालिका दुवैतर्फ प्रमुख पदमा उम्मेद्वारी दिनेमा राप्रपा तेस्रो स्थानमा छ ।
देशभर करिव २४ सयको हाराहारीमा गाउँपालिकाको प्रमुख र नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी परेको छ । यी बाहेक अरु साना दलको उम्मेद्वारी संख्या २५ सय छ । स्थानीय तहको कुल उमेद्वारी ६ हजार ८४४ छ । मनोनयन दर्ता गर्ने पहिलो, दोस्रो र तेस्रो बाहेकका दलहरुलाई अन्यमा राखिएकाले माओवादी, एकीकृत समाजवादी जस्ता दलहरुको छुट्टै विवरण सार्वजनिक भएको छैन ।
स्थानीय तहको पहिलो, दोस्रो र तेस्रो पदमाथिको दावीमा स्वतन्त्र उमेद्वारहरुको संख्या पहिलो÷दोस्रो स्थानमै छ । वडास्तरीय सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी ठूला तीन दलकोभन्दा कम छ ।


