नागरिकको यात्रामा सहजतासँगै सडक भाईरल बन्दा जनप्रतिनिधि खुशी

घोराही । घोराहीमा निर्माण भएका सडकले नागरिकको यात्रामा सहजता श्रृजना गर्नुका साथै सडक समेत भाईरल बन्ने गरेका छन् । सडकका कारण जनताको यात्रामा सहजता प्रदान गर्नुका साथै सडक समेत भाईरल बन्दा आफूहरुलाई समेत खुशी लाग्ने गरेको घोराही उपमहानगरपालिका जनप्रतिनिधिहरु बताउछन् ।

सडक बनेसँगै घोराही १२ का जनतालाई निकै सहज भएको वडा अध्यक्ष राजेन्द्र बुढाले बताए । उनले भने, ‘पहिले कच्चि सडक वर्षामा हिलो र गर्मिमा धुलो हुँदा यात्रा गर्न समस्या थियो । पहिलो बाईकमै पनि घोराहीबाट रमना पुग्न एक घण्टा लाग्थ्यो । अहिले दश पन्ध्र मिनेटमै यात्रा गर्न सकिन्छ । त्यसैले सडक विकासले वडाबासीलाई खुशी दिंदा जनप्रतिनिधिलाई समेत खुशी लाग्दो रहेछ ।’

घोराही १२ हापुर रमनाका लक्षिमा घर्तीले भनिन्, ‘केही महिना पहिले सुनसान जंगलको बाटोमा एक्लै हिड्न डर लाग्ने र बाटोमा मान्छेको चहलपहल न्यून देखिने सडकमा अहिले मान्छेको भिडभाड देखिदा खुशी लाग्छ । अहिले यात्रा गर्दा पनि मन ढुक्क हुन्छ । गाडीघोडामा हिड्दा पनि यात्रामा निकै सजिलो हुने गरेको छ,–‘उनले भनिन् ।

घोराही १३ हुँदै १२ जोड्ने सडक भाईरल बनेसँगै त्यहाँ नागरिकको घुईचो बढ्दो देखिदै जान थालेको छ । घोराही उपमहानगरपालिकाले सघन शहरी विकास मार्फत गरेको सिफारीसमा परेको उक्त सडक संघ सरकारको बजेटबाट बनेको हो । सघन शहरी तथा भवन निर्माण आयोजना दाङले सघन शहरी विकास कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिकाको सिफारीसमा उक्त सडक कालोपत्रे गरेको हो ।

घोराही १२ का वडा अध्यक्ष बुढाले सडक निर्माणका लागि आफुले पहलकदमी र दबाब दिने काम धेरै गरेपनि अहिले जसलिने काम अरुले नै गरिरहेको बताए । उनले भने, ‘सघन शहरी विकास कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिकाको सिफारीसमा सडक बने पनि सडक निर्माणका लागि म र वडा सदस्यहरुले धेरै दुःख गरेका छौँ । ५५ करोडमा सडक निर्माणका लागि नगरले टेन्डर आह्वान गर्ने कुरा भए पनि नगरबाट टेन्डर आह्वान गरिएन । हामीले ५५ करोडमा यो सडक निर्माण गर्ने भनेर माग गर्यौ तर त्यो हुन सकेन् । मैले यो सडकको टेन्डर आह्वान हुदैन भने मैले राजिना दिन्छु भनेर विभिन्न ठाउँमा भन्नुसमेत पर्यो । ५५ करोड काटेर पुनः १९ करोडमा यो सडक बनेको बाटो हो । अहिले ९ किलोमिटर सडक कालोपत्रे हुँदा जनतासहित हामी वडाका जनप्रतिनिधिले पनि गर्वको महशुस गरेका छौँ, ‘अध्यक्ष बुढाले भने ।

नारायणपुर नारेबाङ सडकपछि अर्काे भाईरल रोड

अहिले समाजिक सञ्जाल टिकटक प्रयोगकर्ताको संख्या सबैभन्दा धेरै रहेको छ । कयौ व्यक्ति, स्थान, कला संस्कृति, फुलको बगैँचा, बाटो, पर्यटकीय स्थलहरु टिकटकबाटै भाईरल भएको देखिन्छ । अर्काे अर्थमा भन्नुपर्दा प्रचार प्रसार तथा नागरिकलाई सूचना फैलाउनका लागि पनि टिकटक गतिलो माध्यम बन्दै गएको छ । विभिन्न ठाउँका विभिन्न विषय वस्तुहरु भाईरल भए जस्तै घोराहीमा भने उपमहानगरपालिकाले निर्माण गरेका सडकहरु एकाएक एकपछि अर्काे गर्दै भाईरल हुने गरेका छ ।

उक्त सडकमा अहिले नागरिकहरुको अत्यधिक भिड देखिन्छ । कोही सेल्फी खिच्दै, कोही फोटो सुट गर्दै कोही सडक छेउमा व्यापार गर्दै गरको दृश्य उक्त सडकमा देखिन्छ । घोराहीदेखि तुलसीपुर रक्षाचौर आँखा अस्पतालसम्म जोड्ने सडक सडक अन्तर्गत यो सेवार वनगाउँदेखि हापुर रमनासम्मको सडक अहिले निकै व्यस्त बनेको छ । बिदाका दिनमा मात्रै हैन अन्य दिनमा पनि सो सडकलाई हेर्न, फोटो खिच्न, रमाईलो गर्न जानेको भिड थामिन सक्नुको रहेको छ ।

ग्रामिण क्षेत्रका जनतालाई सडकको पहुँच पुर्याउनका लागि गाउँदेखि बजार जोड्ने सडक निर्माण गर्दा जनतालाई सहजता प्रदान गर्नुका साथै सडकलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न पाउँदा खुशी लागेको घोराही उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीले बताए । नगरप्रमुख चौधरीले भने, ‘हामी २०७४ सालमा चुनावी प्रतिस्पर्धामा होमिदा हाम्रो चुनावी घोषणामध्ये एउटा महत्वपूर्ण घोषणा सडक थियो । हामीले ‘सडकको सुविधा जताततै–यातायातको अभाव हुने छैन कतै’ भनेर हामीले चुनावी प्रतिबद्धता नै गरेका थियो । त्यहिअनुसार हामीले सडकसँग सम्बन्धित यो प्रतिबद्धता धेरै हदसम्म पुरा गर्न सफल भएका छौँ । सडक निर्माण गरेर जनताको मुहारमा चम्कदा छाउनुका साथै सहजता प्रदान गर्न सफल भएको महशुस गरेका छौँ, ‘उनले बताए ।

अक्सपाल विधिबाट गरिएको कालोपत्रे हेर्दा पनि निकै राम्रो र टिकाउ पनि मानिने भएपछि एकातिर जनतालाई सहजता भएको छ भने अर्काेतिर पर्यटकीयरुपमा चिनाउन सडक नै प्रमुख अस्त्र बनेको छ । यसैमा नगरप्रमुख चौधरीले थप्दै भने, ‘शहरलाई गाउँ जोड्ने गरि मुख्य सडकहरु हामीले ८–९ वटा छनौट गरेका थियौ र सबै परेका छन् । ठूला ठूला गाउँलाई शहर सँग जोड्दा धेरै नागरिकहरुलाई सहजता हुने भएपछि बजारमा नभई गाउँ जोड्ने सडक छनौट गरेका हौँ । जसले गाउँका जनताले पनि स्थानीय सरकार हाम्रै साथमा छ भन्ने महशुस गरेका छन् भन्ने विश्वास लिएका छौ ।’

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस