बिजौरी। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले डिजिटल वडा प्रोफाईल तथा भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । विहीबार एक कार्यक्रम गरि फाईन्ड अल नेपाल प्रालीले वडा कार्यालयको सहयोगमा उक्त डकुमेन्ट्री निर्माण गरि वडा कार्यालयलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का २७ वटा टोल बिकास संस्थाका अध्यक्ष, सचिव र पदाधिकारीहरु, नगरस्वास्थ्य केन्द्रका प्रमुख, वडा जनप्रतिनिधिहरु, स्थानीय सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले हामीले चुनावको बेला भनेका सबै कामहरु पुरा गरिसकेको र वडालाइ डिजिटल वडा बनाउने बताए । साथै उनले डिजिटल वडा प्रोफाइलबाट प्रत्येक घरपरिवारको सम्पुर्ण बिवरण लगायत वडाका हरेक गतिविधिहरुलाई घरबाटै हेर्न सकिने बताए ।
त्यसैगरी उनले अब वडाबासीहरुले वडा प्रोफाईल खोली मनमा लागेका, बिकास निर्माण सम्बन्धी सबै खाले गुनासो लेखि पठाउन सकिने र त्यस गुनासोलाई अध्ययन गरि सोहि अनुसार वडाले काम गर्ने बताए ।
कार्यक्रममा वडा सदस्य धन बहादुर बस्नेतले वडा प्रोफाईलले अब सबै वडाबासीहरुलाई प्रत्यक्ष वडासँग जोड्नमा सहयोग गरेको र यस कार्यक्रमले जनताहरुमा राम्रो सन्देश प्रवाह गर्ने बताए। त्यस्तै वडा सदस्य सितल प्रसाद बुढा मगरले वडालाई डिजिटल वडा बनाउनका लागि धेरै मेहनत गरेको र यस कार्यक्रमले सम्पुर्ण वडाबासीहरुलाई वडाका हरेक गतिबिधि सजिलै थाहा पाउनका लागि प्रभावकारी भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा फाईन्ड अल नेपालका सञ्चालकद्वय सन्देश डिसी र बिकास बस्नेतले वडा कार्यालयको वडा प्रोफाईल बनाउने कामको जिम्मेवारी हामीलाई दिनुभएको भन्दै वडा परिवारलाई धन्यवाद ब्यक्त गरे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको उक्त कार्यक्रम वडाका कार्यालय सहायक शरद कुमार रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव रामकुमारी मरासिनीले गरेकी थिइन् ।