उदयपुर छात्रा हत्या आरोपमा २ जना पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका एक उच्च अधिकृतले भने, ‘मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेछ, त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको छ ।’

प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । ‘विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ ।’

प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ । शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस