७ महिने ब्लड क्यान्सर पीडित बच्चालाई सहयोग

बबई । बबई गाउँपालिका वडा नं ७ चरकमटिया स्थित एक विद्यालयले ब्लड क्यान्सर पीडित सात महिनाको बच्चालाई उपचारका लागि सहयोग गरेको छ ।

नवज्योति जनता इङ्लिस बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरुले बबई ६ स्थित सुनिता सुनारकी ७ महिने ब्लड क्यान्सर पीडित बच्चालाई एक कार्यक्रमकाबीच उपचारका लागि सहयोग गरेको हुन् । विद्यालयमा गठन भएको नवज्योती बाल क्लवले संकलन गरेको ५ हजार ५० रुपैया रकम उपचारका लागि सहयोग गरिएको हो ।

नवज्योती बाल क्लबका अध्यक्ष रेसु भण्डारी र कोषाध्यक्ष निर्मला खड्काले बच्चाको हजुर बुवा शेर वहादुर सुनारलाई सो संकलन गरिएको रकम हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा विद्यालयका प्रिन्सिपल एकराज बोहरा, भ्वाइस प्रिन्सिपल राम वहादुर खत्रीले समस्या परेका बेला बाल क्वलले निकै राम्रो काम गरेको बताए । सानो बच्चाको सहयोगमा विद्यार्थीले देखाएको सहयोगीपनप्रति धन्यवाद दिदै क्यान्सर पीडित बच्चाको शीघ्र स्वाथ्य लाभको कामना गरेका थिए ।

कार्यक्रममा क्यान्सर पीडित बच्चाका हजुर बुवा सुनारले ससाना नानीबाबुले आफ्नो नास्ता खर्च कटाएर सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण मनिष डाँगीले गरेका थिए । क्यान्सर पीडित बच्चाको हाल भारतको चन्डिगढ स्थित पिजिआई हस्पिटलमा उपचार भइरहेको छ । उपचारका लागि सहयोग गरिदिन सुनार परिवारले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस