पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौं । त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल आरिफ शेख दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल टी–२० टिममा पनि खेल्दैछन् ।

यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी–२० मा पहिलो रोजाईमा खेल्दैछन् ।

पहिलो पटक टी–२० राष्ट्रिय टिममा समावेश भएका आदिल अन्सारी भने सोमबार नेपालको टिममा परेका छैनन् ।

एकदिवसीयमा शतक प्रहार गरेका रोहित पौडेल सोमबार बिहान मात्रै टी–२० श्रृङ्खलाका लागि टिममा समावेश भएका थिए । रोहितले सन् २०१९ पछि पहिलो पटक नेपालका लागि टी(२० खेल्दैछन् । उनले पछिल्लो पटक २०१९ डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदमा खेलेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस