बबई । बबई गाउँपालिका वडा नं. ६ पञ्चकुले स्थित स्वास्थ्य चौकीमा बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्रालय र जनस्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सञ्चालन भएको हो ।
उक्त शिविरबाट १५३ जनाले सेवा लिएका हुन् । ति मध्ये ५ जनालाई रेफर गरिएको हो । उनीहरुमा पाठेघरको समस्या थियो भने एक जनालाई हर्नियाको समस्या थियो । गाउँका नागरिकलाई सेवा दिनका लागि यस्तो शिविर सञ्चलालन गरिएको लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले बताइन् । उनकाअनुसार दंगीशरण, शान्तिनगर, बबईलाई पायक पर्ने गरि त्यहाँ बिशेषज्ञ सेवा सहितको शिविर सञ्चालन गरिएको हो ।
शिविरमा महिला बालबालिका, जनरल मेडिसिन र दाँत सम्बन्धी निःशूल्क बिशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन भएको हो । डा. विनोद सिंह, डा. अजय गौतम, डा. रमिता कडेँल, डा.रोशन पौडेल, डा. रचना खड्का, डा. मुखिया घलले सेवा प्रदान गरेको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत जनार्दन अधिकारीले जानकारी दिए ।
त्यस अवसरमा स्वास्थ्यकर्मी दोर्ण वली, जीवन खड्कालगायतको सहभागिता रहेका थियो । स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शरद गिरीले गरेका थिए ।