युएईले दियो नेपाललाई२०३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।

युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए ।

करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।

पहिलो विकेटका लागि वासिम र सुरीले ५७ रनको साझेदारी गर्दै युएईलाई गतिलो सुरुवात दिलाएका थिए । तर १६औं ओभरको अन्तिम बलमा कप्तान सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

१९औं ‌ओभरमा करण केसीले सुरीलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए । त्यसपछि दीपेन्द्र सिंह ऐरीले २३औं ओभरको पहिलो बलमा सिपी रिजवानलाई विनोदबाटै क्याचआउट गराएपछि युएई ७३–३ को स्थितिमा पुग्‍यो । रिजवान ४ रन बनाएर आउट भए ।

कप्तान सन्दीपले ४७औं ओभरमा युएईका कप्तान अहेमद राजाला खाता खोल्न नदिई बोल्ड गरे । युएईका अलिशान सारापुले २१ रन बनाए । जहुर खान ९ रनमा अविजित रहे ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस