
नारायणपुर । दाङको नारायणपुरस्थित ग्रेट बुद्ध एकेडेमीका विद्यार्थीहरूले फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेका छन् ।
कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले पेसा व्यवसाय तथा प्रविधि शिक्षा अन्तर्गत प्रयोगात्मक कार्यक्रमका लागि विभिन्न परिकारहरू तयार गरेका थिए । फेस्टिबलमा सेल, पुरी, तरकारी, बर्गर, पानी पुरी, भेज स्प्रिङ रोल, चटपटे, खिरलगायतका सामग्री तयार गरिएको थियो ।

फेस्टिबलमा तयार गरिएका सामग्री विद्यार्थीहरूले बिक्री गरेका थिए । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई बिक्री गरिएको थियो । फेस्टिबलमा १० हजार बराबरको कारोबार भएको प्रिन्सिपल निर्मल न्यौपानेले जानकारी दिए ।

बिक्रीबाट सङ्कलित रकमलाई सामाजिक कार्यमा लगाइने प्रिन्सिपल न्यौपानेले जानकारी दिए । ‘विगतमा पनि यस्ता कार्यबाट सङ्कलित रकम सामाजिक सेवाका कार्यमा लगाउने गरेका छौँ । आगामी दिनमा पनि यस्तै प्रकृतिका कार्यक्रम गरी सङ्कलित रकम सामाजिक सेवाका कार्यमा लगाउने छौँ ।’ प्रिन्सिपल न्यौपानेले बताए ।
