
काठमाडौं । रुस र युक्रेनबिच युद्ध भएपछि युद्धग्रस्त युक्रेनबाट हालसम्म पाँच सय ७९ जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट बाहिरिएपछि पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये जम्मा नौजना स्वदेश फर्केका छन् भने बाँकी पश्चिम युरोपमै बसेका छन् । जर्मनीमा पुगेका नेपालीमध्ये १५ जना प्रहरीको निगरानीमा छन् ।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट बाहिरिएकामध्ये चार सय ६६ जना पोल्यान्ड पुगेका छन् । ७८ स्लोभाकिया, २७ रोमानिया र आठजना हंगेरी पुगेका छन् ।
खड्काका अनुसार सोमबार साँझसम्म पोल्यान्डको राजधानी वार्सा र आसपासका शरणार्थी शिविरमा एक सय ३६ नेपाली छन् । तर, उनीहरू स्वदेश फर्किने पर्खाइमा नभएर युरोपका अन्य मुलुक जाने खोजिरहेका छन् । उनीहरूलाई गैरआवासीय नेपाली संघले बस्न खान समन्वय गरिरहेको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार