
दाङ । दाङको घोराहीमा सञ्चालित प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ ।
नेपाली कांग्रेस दाङको आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक फाइनल खेलमा राप्ती गाउँपालिकालाई २५–२०, २३–२५, २०–२५, २५–१८ र १९–१७ अर्थात ३–२ को सेटमा पाखा लगाउदै तुलसीपुर उपमहानगरपालिकाले उपाधी जितेको हो ।
सहिद मञ्च घोराहीमा सम्पन्न प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएको तुलसीपुरले उपाधीसँगै नगद दुई लाख, कप, मेडल तथा प्रमाणपत्र हात पार्यो । उता फाईनल खेलमा सम्मानजनक हार ब्यहोरेको राप्ती गाउँपालिका उपबिजेतामै सिमित रहदै नगद एक लाखमा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोत्कृट खेलाडी तुलसीपुर उपमहानगरपालिकाका जर्सी नं ४ का खेलाडी मान बहादुर श्रेष्ठ घोषित भए । उनले नगद पाँच हजार एक सय, ट्रफी प्रमाणपत्र हात पारे ।
त्यस्तै वेस्ट स्पाईकर तुलसीपुर उपमहानगरपालिकाकै जर्सी नं ६ का धन बहादुर भट्ट क्षेत्री, बेस्ट सेटर जर्सी नं २ बिनोद बुढाथोकी, वेस्ट लिब्रो जर्सी नं ५ का हरिश बुढाथोकी, वेस्ट ब्लकर राप्ती गाउँपालिकाका जर्सी नं ३ का खेलाडी हरि अधिकारी, वेस्ट सरबर राप्तीकै सुवास बोहरा र बेस्ट कोच तुलसीपुरका कमल खत्री घोषित भएका हुन् । उनीहरु सबैले ट्रफी प्रमाणपत्र हात पारेका छन् ।
फागुन १६ गतेबाट सञ्चालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली कांग्रेस दाङका सभापती शंकर डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेको बिशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव बालिका लम्सालले गरेकी थिइन् ।