
काठमाडौं । चिनियाँ भिडियो एप टिकटकलाई छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।
तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा उपलब्ध गराएको छ । टिकटकको यो निर्णयलाई लिएर विश्वभरका प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।
प्रविधि सम्बन्धी समाचार संस्था द भर्जसँग कुरा गर्दै टिकटकका प्रवक्ताले १० मिनेटसम्मको भिडियो राख्न मिल्नेबारे जानकारी गराएका छन् । यो फिचरको सुरुवात गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको उनले बताएका छन् । यो निर्णयले विश्वभरका क्रिएटरलाई थप रचनात्मक बन्न भूमिका खेल्ने अपेक्षा कम्पनीले लिएको उनले जनाए ।
टिकटकमा सुरुमा १५ सेकेन्डको भिडियो अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्ड हुँदै तीन मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने सुविधा थपिएको थियो ।