ओमानलाई हराउँदै ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो

काठमाडौं । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी–२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।

सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।

ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७।२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै आरिफ शेखले अविजित २१ रन जोडे ।

ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् । यस्तै पूर्वकप्तान पारस खड्काले टी–२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि ८७ रनमै रोकिएको थियो ।

नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । कप्तान जिसन मक्सुद (२१) र आयान खान ९१६०, नसिम खुसी (१५) र कलिमुल्लाह (१४) ले मात्र दोहोरो अंकको रन छुन सके ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस