दंगीशरण । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँगाउँ पशु सेवा विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम प्रभावकारी तरिकाले सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।
कुनै पनि नागरिक पशु सेवा नपाएको भन्ने गुनासो आफूकहाँ नआउने किसिमले सेवामा खटिन कर्मचारीहरुलाई आग्रह गरे । कुनै पनि तरीकाबाट सेवा लिन वञ्चित रहेकाहरुलाई सूचनामार्फत जानकारी गराई सेवा अगाडि बढाउनुपर्ने भन्दै अबका दिनमा पशु कृषकहरु गाउँपालिकाबाट लाभ लिन सक्ने गरि वातावरण मिलाउनुपर्ने कुरामा जोड दिए ।
मंगलबार सामुदायिक कुषि तथा भेटनरी उद्यमीलाई पशु स्वास्थ्य सामग्री वितरण कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । पशु स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले विभिन्न पशु स्वास्थ्य सामग्री वितरण गरेको भन्दै हरेक वडामा ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई खटाइएको बताए । पशु सेवा शाखा र पशु स्वास्थ्य कार्यकर्ताहरु एक आपसमा समन्वयकारी भूमिका निर्वाह गरी नागरिकहरुको घरघरमा सेवा दिन निर्देशन दिए ।
कार्यक्रममा उपाध्यक्ष पिमाकुमारी खड्काले पशु स्वास्थ्य सामग्रीलाई थन्काउँने भन्दा पनि प्रयोग ल्याई सदुपयोग गर्नुपर्ने बताइन् । दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र समाजमा वातावरणीय शिक्षाको विकास सीडको आयोजनामा गाउँपालिकाका ७ वटा वडा र पशु सेवा शाखालाई एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले पशु स्वास्थ्य सामग्री वितरण गरेका थिए ।
माईक्रोस्कोप मनोकुलर ७ वटा वडालाई, १ र ४ न. वडालाई १/१ वटा ट्याग मेसीन, वडा न. २, ५ र ७ का ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई ३० हजार बराबरको भेटनरी स्थापनाका लागि पशु औषधि वितरण, पशु सेवा शाखा र ७ वटा वडाका गाउँपालिका स्वास्थ्य कार्यकर्तालाई पोष्टर १/१ वटा गरि ८ वटा पम्प्लेट वितरण गरिएको हो ।
वितरण कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा न.३ का छोटिराम चौधरी, वडा न. ५ का वडा अध्यक्ष दिपक गौतम, हेफरका कार्यक्रम अधिकृत महेश कुमार आचार्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण हेफर दंगीशरण गाउँपालिका संयोजक गोमा भट्टराईले गरेकी थिइन् ।