काठमाडौं। कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाउने तयारी गरेको छ ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागेका हुन् । मुख्यमन्त्री शाहीले हेलिकप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी दिए ।
‘हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकप्टर बस्न सक्ने अवस्था छैन’, मुख्यमन्त्री शाहीले भने, ‘भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी छ।’
तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन्।
उनीहरु सेतक चिनी ९खिरौंला० संकलन गर्न त्यहाँ गएका हुन् । शाहीका अनुसार उहाँकी बुहारी जैकुवाँरा शाही र तातोपानी(७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताए ।



