अदुवाले भाउ नपाउँदा वेचैन छिल्लीकोटका किसान

छिल्लीकोट । तुलसीपुर उपमहानगरपालिका—१९ छिल्लीकोटकी हरीकला पुनको मन यतिबेला वेचैन भएको छ । आफुहरुको आयश्रोतको मुख्य आधार अदुवा तयार हुँदा पनि त्यसले पोहोरसाल जस्तो भाउ नपाए पनि उनको मन अध्यारो छ, अचेलको मौसम जस्तै ।

अदुवा विक्रि नभएपछि उनले आँगनमा अदुवा सुकाइरहेकी छिन् सुठो बनाउन । अदुवाले भाउ पाएन, सुठो बनाउने मन लाग्यो । बोक्रा निकालेका अदुवाको विस्कुन आँगनभरी छ, तर मौसमले पनि यो वर्ष साथ दिएको छैन । माघ तेस्रो सातासम्म पनि राप दिने घाम नलाग्दा अदुवा सुकेर सुठो बनाउन पनि सास्ती भएको छ हरीकलालाई ।

‘अदुवाले भाउ पाएन, अब सुठो बनाएर बेच्ने भन्या छौं, तर घाम नलागेर अदुवा सुकाउनै हैरान भएको छ’—हरीकलाले भनिन् । एक बोरा सुकिसकेको छ, अरु कति हुन्छ सुकेपछि मात्रै अनुमान हुने हरीकलाको बुझाइ छ । नसक्दै कति हुने हो भन्नै सकिन्न । अदुवा लिन पोहरसाल व्यापारीहरु गाडि लिएरै छिल्लीकोटमा आउँथे। तर यसपाली भाउ बुझ्न मात्रै व्यापारीहरु आउने गरेको हरीकलाले बताइन् ।

‘क्वीण्टलको ३ हजारमा पनि विकाउन सकेनौं, त्यसैले सुठो बनाएर घोराहीमा लगि व्यापारीलाई दिने योजनामा छौं, सुठो बनाएपछि त अदुवा कुहिएर जान पाउंदैन’, हरीकलाले भनिन् । हरीकलाको परिवारको हिउँदे आम्दानी भनेकै अदुवा खेती थियो । तर फसल दिएसकेको अदुवाले बजार नपाउँदा उनको मन उज्यालो भएको छैन ।

छिल्लीकोटकै अर्का स्थानीयबासी पुर्ण पुनको अदुवा पनि बारीमै छ । खने भाउ पाउंदैन, खनेर सुकाउने फुर्सद मिलेको छैन उनलाई । उनी पनि अब अदुवा खनेर सुठो बनाउने बताउँछन् । सुठो बनाउन पनि कम्ति सास्ती भने छैन । अदुवा खनेर बोक्रा फालेर सुकाउनै कम्तिमा साता दिन भन्दा बढी लाग्छ । अदुवाको भाउ खस्केको जस्तै सुठोको भाउ पनि अहिले खस्केको छ । परवीर भन्छन्, पोहरसाल ८ हजार रुपैया प्रतिक्वीण्टलमा विकेको अदुवा अहिले २ हजार ५ सयमा पनि विक्न सकेको छैन । सुठोको भाउ पनि निकै तल झरेको व्यापारीहरुले बताइरहेको पुर्ण पुनले बताए । पोहरसाल प्रतिक्वीण्टल ८५ हजार रुपैयामा सुठो विक्ने गरेको थियो । तर यसपाली घोराहीका अदुवा व्यापारीले १८ हजार रुपैया प्रति क्वीण्टल भन्दा माथि भाउ नगएको बताएका छन् रे । सुठो बनाएर पनि किसानलाई मेहनेतको खर्च उठ्ने देखिंदैन ।

भाउ बढ्ने आशामा छिल्लीकोटका ५० प्रतिशतभन्दा बढी किसानले अदुवा बारीमै छाडेका छन् । खनेर भित्राएका छैनन् । ‘भाउ केहि बढि पाउला भनेर बारीमै राखेका छौं’, छिल्लीकोटकै अर्का किसान परवीर पुनले भने । परवीरले पोहरसाल मात्रै अदुवा विक्रिबाट ५० हजार रुपैयाभन्दा बढी कमाएका थिए, तर यसपाली एक क्वीण्टल पनि बेचेका छैनन् । माघ महिनाभरी अदुवा विक्रिको सिजन हो, तर छिल्लीकोटका किसानहरुले अदुवाको भाउ यतिसाहै कम भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

छिल्लीकोट क्षेत्रमा करीव डेढ सय घरधुरी बसोबास गर्छन्, ती सबैको नगदेवाली भनेको यो सिजनका लागि अदुवा मात्रै हो । अन्य कृषि उपज घरमै खान पुग्दैन । तर अदुवा नविक्दा यहाँका प्रायः सबै किसानहरु चिन्तित छन् । उनीहरुले यो वर्ष अदुवा राम्रो फलाउने भनेर उन्नत जातको अदुवा किनेर रोपेका थिए । ‘एक क्वीण्टलको १० हजार रुपैयामा विउ किनेर अदुवा रोपेको थिएं, तर यसै वर्ष अदुवाले भाउ नपाउँदा निकै नोक्सानी भएको छ’—स्थानीय किसान परवीर पुनले भने ।

गाउँभरी कम्तिमा ५ सय क्वीण्टल जती अदुवा उत्पादन हुन्छ । गाउँलेहरुले पशुचौपाया र स्याउलाको मल प्रयोग गरेर अदुवा उत्पादन गर्दै आएका छन् । घोराही तुलसीपुरमा उपभोक्ताकारुपमा बुझ्दा अदुवाको उपभोक्ता मुल्य प्रतिकिलो ८० रुपैयादेखि १ सय रुपैयासम्म प्रतिकिलो छ । तर छिल्लीकोटमा ३० रुपैया प्रतिकिलो पनि विक्रि हुन नसक्दा यसलाई गाउँलेहरुले विचौलियाको विगविगि पनि भनेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस