दक्षिण कोरिया दशौं पटक विश्वकपमा छनोट

काठमाडौं । एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर–डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २–० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक विश्वकप खेलिसकेको छ । सन् २००२ मा घरेलु मैदान र जापानमा भएको विश्वकपमा सेमिफाइनल पुग्नु दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ट नतिजा हो ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई–दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् ।

समूह बी मा भने रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । जापानले साउदी अरेबियाको अपराजित यात्रा ब्रेक लगाइँदिदा अष्ट्रेलिया ओमानसँग बराबरीमा रोकिएको छ ।

मंगलबार जापानले साउदीलाई २–० ले हरायो भने अष्ट्रेलियाले ओमानसँग २(२ को बराबरी खेल्दै अंक बाँड्यो ।

पहिलो हारपछि पनि ८ खेलबाट १९ अंकसहित साउदी समूह बी को शीर्ष स्थानमै छ । १८ अंक जोडेको जापान दोस्रो स्थानमा छ भने अष्ट्रेलिया १५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस