काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलीय पदार्थको मुल्य बढेसँगै पेट्रोल १४२ र डिजल÷मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१.६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।