बुवाको क्रियामा उनै शुष्मा…

तुलसीपुर । ममतामयी आमा रुपादेवी सिंह वितेका वेला कपाल मुण्डन गरी क्रिया बसेको ९२ दिन मात्र पुगेको थियो, फेरी बुवा दशरथलाइ गुमाएपछि तुलसीपुर उपमहानगरपालिका—५ प्रतिभा टोलकि शुषमा सिंह कपाल खौरेर क्रियामा बसेकि छिन् । बुवाको निधन भएको आठौंंदिन बुधवार शुषमा गरुढ पुराणमा थिइन् ।

आमाको क्रिया बस्दा खौरेको कपाल राम्रो संग टाउको ढाक्न पाएकै थिएन, फेरी केश खौरेर उनी बुवाको काजक्रियामा छिन् । तीन छोरी र एक छोरा मध्ये शुषमा कान्छि छोरी हुन् । दुइ छोरीहरुको विहेवारी भैसकेको छ । दशरथका छोरा गोविन्द सिंह वेलायतमा छन् । बुवाको निधनको खवर सुन्दा उनी कोरोना भाइरसको संक्रमणमा भएकाले तत्काल नेपाल आउन संभव भएन । संभवतः उनी मंगलवार सांझ सम्म दाङ आइपुग्ने छन् ।

‘बुवाको अगाध माया र स्नेहको सम्मानगर्दै उहांको आत्मसम्मानकालागी मैलेनै छोरा सरह कपाल मुण्डन गरेर काजक्रिया गर्ने निर्णय गरें’, शुषमाले भनिन्, यसका परीवारका कसैको करकाप र दवाव होइन, मेरै चाहनाको परीवारबाट कदर पनि भएको हो । आफु क्रिया बसीरहंदा परीवारका सवै सदस्य र आफन्तहरुबाट पनि हौसला र सम्मान प्राप्त भएको पनि शुषमाको अभिव्यक्ति थियो । बुबाको अन्त्येष्टिमा दागवत्ति पनि उनैले दिएकि थिइन् ।

आमाको निधनमा पनि सवै अन्तिम संस्कारमा उनै सुषमा । छोरा सरह छोरीले पनि सवथोक गर्न सक्छन् भन्ने पनि उनको अभिव्यक्ति थियो । हरेक दिन धार्मिक संस्कार अनुसार उनले बुवाको अन्तिम संस्कारका कर्महरु गर्दै आएकि छिन् । विदेशमा रहेका दाजुलाइ कुरौंकि भन्ने कुरा आएको पनि थियो, आफन्तजनहरुबाट । तर सुषमाले आफैले काजक्रिया गर्ने बताएपछि काजक्रिया सुरु भयो । विदेशबाट फर्केका दाजु जुनदिन आउंछन्, त्यसैदिन काजक्रियामा मिसिने छन् ।

‘आत्मवल बलियो र कर्मशिल भएपछि सानातिना समस्याहरु त्यसै हराएर जाने रहेछन्, अनि धर्मशास्त्र र तर्कशास्त्रमा छोरीले काजक्रिया गर्नु हुंदैन भन्ने पनि त छैननी’, शुषमाले उत्साहित बन्दै भनिन् । सानैदेखि हरेक क्षेत्रमा चतुर र प्रतिभावान शुषमाले समाजशास्त्रमा स्नातकोत्तर पनि उत्तिर्ण गरेकि छन् । काठमाण्डौको वनस्थलीमा उनको एउटा डान्स इन्स्टीच्युट छ । उनले त्यसको नाम एलोटाइगर डान्स इन्स्टिच्युट राखेकि छिन् ।

दर्जनौ आकांक्षिहरुलाइ उनी नृत्य प्रशिक्षण पनि दिन्छिन् । थुप्रै नृत्यांगनाहरु उनको इन्स्टिच्युटले उत्पादन गरेको छ । मेहनत उनको दैनिकि हो । समानता उनको चाहना हो । कर्म उनको कर्तव्य हो । ‘छोरीले गर्न नसक्ने कुनै काम छैन जस्तो लाग्छ मलाइ सायद, तर आंटेर अघि बढ्नु पर्यो’, शुषमाले भनिन् । आठौंदिन सम्म शुषमालाइ स्वास्थ्यले पनि साथ दिएको छ । फुर्तिलो उपस्थीतीबीच उनी बुवाको मृत्यु पछिको संस्कारमा छिन् । बुवाको आत्मशान्ति र स्वार्गवासकालागी आफुले कर्तव्य पुरा गरीरहेको लाग्छ उनलाइ ।

अन्य समुदायमा कहिकतै छोरा सरह छोरीले पनि कपाल खौरेर कुना वारेर पितृकार्य गर्ने गरेको देखिएपनि नेवार समुदायमा भने यो विरलै देखिएको नेवार समुदायका अगुवाहरु बताउंछन् । ‘हाम्रो समुदायमा यो क्षेत्रमा छोरीले केश मुण्डन गरी पितृकार्य गरेको संभवतः यो पहिलो घटना हो’, नेवार समुदायका अगुवा तथा तुलसीपुर नेवा समाजका उपाध्यक्ष बुद्ध प्रकाश सिंहले भने । यसले छोरीले पनि अवसर र आवस्यकता परेको अवस्थामा छोरा सरहका हरेक भुमिका निर्वाह गर्न सक्षम छन् भन्ने देखाएको पनि उनले बताए । सिंह परिवार सल्यानबाट दाङ झरेका नेवार समुदायका हुन् ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस