खगेन्द्र बहादुर बस्नेतको सम्झना

घोराही । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९४ औं जन्म जयन्ती दाङमा मनाइएको छ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाले आयोजना गरेको कार्यक्रममा नेपालमा शारीरिक अपाङ्गता भएकाहरुको अधिकारका लागि खगेन्द्र बहादुर बस्नेतले खेलेको भूमिकाको चर्चा गरिएको थियो ।

नेपाल अपाङ्ग संघ दाङका अध्यक्ष शरद अधिकारीले खगेन्द्र बहादुर बस्नेतको व्यक्तित्व र जीवनीको चर्चा गरेका थिए । विक्रम सम्वत १९८५ सालमा जन्मिएर ४९ वर्ष मात्रै जिवित रहेका खगेन्द्र बहादुर बस्नेतले शारीरिक अपाङ्गता भएकाहरुका लागि गरेको योगदानको अधिकारीले चर्चा गरेका थिए ।

जन्मदा सपाङ्ग भए पनि २२ वर्षको उमेरमा अपाङ्ग भएका खगेन्द्र बहादुर बस्नेतले काठमाडौंको जोरपाटीमा अपाङ्ग पुनःस्थापना केन्द्र सञ्चालन गरेर देशभरका अपाङ्गहरुको हितमा काम गरेको धारणा कार्यक्रमका बक्ताहरुको थियो ।

कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका उपमहासचिव चिन्तामणि पौडेलले अपाङ्ग संघले गरिरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

यस्तै दाङ शाखाका निवर्तमान सभापति श्रीमण न्यौपानेले अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्नु कठिन कार्य भएको भन्दै खगेन्द्र बहादुर बस्नेतले महत्वपूर्ण योगदान गरेको चर्चा गरेका थिए ।

शाखा सचिव भुमा चौधरीले सञ्चालन गरेको कार्यक्रमको सञ्चालन शाखाका उपसचिव निशान्त आचार्यले गरेका थिए । नेपाल अपाङ्ग संघले संस्थापक अध्यक्ष बस्नेतको सम्झनामा हरेक वर्ष माघको ५ गतेका दिन कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस