प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्‍यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । ३६ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको उसको पारी कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने प्रयास गरे । उनले चौथो विकेटका लागि आरिफ शेखसँग ३७ रनको साझेदारी गरे । पाँचौं विकेटका लागि दीलिप नाथसँग ५६ रनको साझेदारी गरे । तर अरु ब्याट्सम्यान चल्न सकेनन् ।

अन्तिम ओभरमा आउट भएका दीपेन्द्रले ५४ बलमा ३ चौका र २ छक्काको मदतमा ६५ रन बनाए । दीलपनाथले २३, आरिफ शेखले १२ र अनिलकुमार साहले १० रन बनाए ।

एपीएफका अविनाश बोहरा र किशोर महतोले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै पुलिसलाई लक्ष्यसम्म पुग्बाट रोके । महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस