चन्द्रौटा। कपिलवस्तुका उखु किसानले सरकारसँग रकम माग गर्न ५० पटक सम्म ज्ञापन पत्र बुझाएका छन् ।आइतबार ५० औँ पटक उखुको रकम पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको किसान संघका कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताए ।
चौधरी सहितका किसानहरू पटक पटक ज्ञापन पत्र दिँदा र आन्दोलन गर्दासम्म कुनै सुनुवाइ नहुँदा चिन्तित बनेका छन् । ‘यो ६ वर्षको अवधिमा जिल्ला प्रशासन, इलाका प्रशासनमा मात्र ५० पटक ज्ञापन पत्र बुझायौ, चौधरीले भने, ‘अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको छैन’ ।
आर्थिक वर्ष ०७१।७२ मा सरकारले प्रतिक्युन्टल रु २५ का दरले दिने भने पनि अहिलेसम्म उक्त रकम कपिलवस्तुका उखु किसान पाउन सकेका छैनन् । जिल्लाका ७ हजार किसानले २ करोड ५० लाख पाउनुपर्ने रकम नपाएको चौधरीको गुनासो छ ।
यही रकमको माग गर्न भनी कपिलवस्तुका उखु किसान अहिले सम्म ३५ पटक काठमाडौं पुगेका छन् । किसानहरूले गरेको चक्काजाम,अनसनको गन्ती नै छैन । कृषि मन्त्रालय, अर्थ मन्त्रालय मात्र होइन प्रधानमन्त्रीको कार्यालयसम्म पुगेको किसानहरूको भनाई छ ।
‘हामीले धेरै पटक आन्दोलन गर्यौ, सरकारले चिनी मिलले दिन्छ भन्छ, चिनी मिलले सरकारले दिनुपर्छ भन्छ, कृषक ओमप्रकाश चौधरी भन्छन्, ‘किसानहरूलाई आश्वासन बाहेक अरू केही भएन’ ।
शिवराज नगरपालिका ७ मा रहेको महालक्ष्मी सुर्गस मिल अहिले स्थानतरण गरी सर्लाही लगिएको छ । मिलका सञ्चालक वीरेन्द्र कनोडियाले आफूले दिनुपर्ने किसानको रकम बाँकी नरहेको दाबी गर्दै आएका छन् ।