आइफोन निर्माता कम्पनी एप्पलले ३० खर्ब डलर बजार मूल्यको आँकडा छुने विश्वको पहिलो कम्पनी बन्दै इतिहास कायम गरेको छ ।
एप्पल कम्पनी स्टक मार्केटमा ३ ट्रिलियन डलर मूल्य हुन विश्वकै पहिलो कम्पनी बन्न सफल भएको छ । सन् २००७ मा कम्पनीका संस्थापक तथा तत्कालीन सिइओ स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरे यता कम्पनीको शेयर मूल्यमा ५,८०० प्रतिशतले वृद्धि भएको छ ।
गत सोमबार कम्पनीको शेयर मूल्यमा भएको वृद्धिसँगै एप्पलको कूल बजार मूल्यले ३० खर्ब डलरको आँकडा छोएको थियो । यद्यपि बजार बन्द हुँदासम्म शेयर मूल्यमा केही गिरावट आएपछि कम्पनीको मूल्य २९ खर्ब ९० अर्ब कायम भयो ।
विश्लेषकहरुलाई अनुसार संसयकर्ताहरुलाई गलत सावित गर्ने क्रममा एप्पलले ३ ट्रिलियन डलरको बजार मूल्य छुनु अर्को ऐतिहासिक क्षण हो ।
साथै एप्पल स्टोरबाट बिक्रि गर्ने सफ्टवेयरहरु, आइक्लाउडबाट बिक्रि गर्ने स्टोरेज स्पेस र म्युजिक, टेलिभिजन र फिटनेस सब्सक्रिप्सन प्लाटफर्ममा पनि एप्पलले व्यवसाय विस्तार गरिरहेको छ ।
स्मरण रहोस् स्टिभ जब्सले आफ्ना साथीहरु स्टिभ वज्नियाक र रोनाल्ड वाइनेसँग मिलेर सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए ।
कम्पनीका संस्थापक स्टिभ जब्स र स्टिभ वज्नियाकले पहिलो पटक बनाएको एप्पल कम्प्युटर गत नोभेम्बरमा ४ लाख अमेरिकी डलरमा लिलाम भएको थियो । एजेन्सी