काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
जारी लिगमा अपराजित तीन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध जित हात पारे संकटाले दोस्रो स्थानमा रहेको मानाङसँग अंक बराबरी गर्नेछ । सातदोबाटो भने ७ खेलबाट ८ अंकसहित आठौं स्थानमा छ ।
यस सिजन संकटाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदार दुई क्लब मछिन्द्र र मनाङलाई पछ्याइरहेको छ । अर्कोतर्फ ए डिभिजनमा नवप्रवेशी सातदोबाटोले सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेपनि पछिल्ला खेलहरुमा लय कायम राख्न सकेको छैन ।
दुई टोली शुक्रबार १ बजे मैदान उत्रँदा दुवै टिमसँग एक÷एक विदेशी खेलाडी हुने छैनन् । जारी लिगमा ह्याट्रिक गर्ने एक्लो खेलाडी सातदोबाटोमा फरवार्ड दुई पहेँलो कार्डका कारण संकटा विरुद्ध खेल गुमाउनेछन् । उता संकटाका डिफेण्डर एर्नेस्ट थम्पी चोटका कारण मैदान बाहिर छन् ।
यस्तै पौने ५ बजे हुने खेलमा जावलाखेल र एपीएफ दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् । अंकतालिकामा अघिपछि रहेका यी दुई क्लबलाई माथि उक्लने अवसर पनि छ । जावलाखेल ७ अंकसहित नवौं स्थानमा रहँदा ६ अंक रहेको एपीएफ दशौँ स्थानमा छ ।