
घोराही । दाङबाट स्नेहा घिमिरे विज्ञान एक्स्पोमा सहभागी हुन दुबई जान थालेकी छिन् । छनौटमा परेपछि उनी आउँदो फेब्रुअरी २० देखि २५ सम्म दुबईमा आयोजना हुन लागेको मिलसेट एक्स्पो साइन्स एशियामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
उनीसँगै नेपालका छ प्रदेशबाट १० जना उक्त एक्स्पोमा सँगसँगै सहभागी हुँदैछन् । लुम्बिनी प्रदेशबाट भने स्नेहा एक्लै एक्स्पोमा सहभागी हुनेछिन् । गोरखा मावि घोराहीबाट विज्ञान विषयमा १२ पास गरेकी स्नेहा विज्ञान एक्स्पोमा छनोट गर्दा बालापनमा देख्ने गरेको सपना सम्झाएको बताइन् ।
स्नेहाले आफूले विद्यालय तहमा विज्ञान विषय पढ्ने क्रममा गरिएको अभ्यासको एक्स्पोको समूहमा प्रस्तुति देखाउनुपर्नेछ। विश्वका ३० बढी देशका विद्यार्थीहरुले आआफ्नो देशको प्रतिनिधित्व गर्दै एक्स्पोमा सहभागिता जनाउनेछन् । एक्स्पोमा सहभागी हुने देशको समूहले तीन तीनवटाको समूहमा रहेर प्रयोगात्मकरुपमै प्रस्तुति गर्नुपर्नेछ ।
यसैअनुसार नेपालको समूह पनि तीनवटा समूहमा रहेर तयारी गरिरहेको छ। एक्स्पोमा स्नेहाको समूहले जीव विज्ञान र भौतिक विज्ञानका बारेमा प्रस्तुति देखाउने तय भएको छ । वर्षेनि हुँदै आएको यो प्रतियोगितामा २५ वर्षमुनिका विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता हुनेगर्छ ।
नेपालबाट सहभागी हुन लागेका १० जनाको समूहमा तीनजना छात्रा र सात जना छात्र रहेका छन् । एक्स्पोमा सहभागी हुनका लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले एक्स्पोमा सहभागी हुन इच्छुक विज्ञान विषयका विद्यार्थीहरुमध्येबाट उनीहरुले स्कूल कलेज पढ्दा गरेका प्रोजेक्ट र एक्स्पोमा प्रस्तुत गर्ने प्रोजेक्टसम्बन्धी सोचका आधारमा छनोट गर्दछ।