
तुलसीपुर । तुलसीपुरमा तीन विद्यार्थीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार तुलसीपुरको मेट्रो अस्पतालमा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा राप्ती बाल एकाडेमीका दुई र ठेगाना नखुलेको एक जना विद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
आज थपिएका संक्रमित सहित तुलसीपुरमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका–८ स्थित आश्वरा माविका शिक्षक र विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मेट्रो अस्पतालमा चार दिनको अन्तरालमा कोरोना संक्रमणको आशंकामा आरटी एन्टिजेन विधिबाट परीक्षण गर्दा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी लगायतमा संक्रमण देखिएको केसीले बताए ।
बुधबार २८ जनाको परिक्षण गर्दा महिला ७ र पुरुष ६ गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज संक्रमण पुष्टि भएका सबै कोेरोना विरुद्धको खोप लगाएका रहेको केसीले बताए । संक्रमित विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरु परीक्षण गरिएको थियो ।
त्यस्तै कोरोना संक्रमण समुदायमा नै देखिन थालेपछि ओमिक्रोनको आसंका लागेकोले परिक्षणका लागि बिहीबार नमूना नेपालगञ्ज पठाउन लागेको समेत उनले बताए ।