तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएका तीन जनालाई कांग्रेसले कारवाही गरेको छ ।
नौ दलीय सहमतिबाट कांग्रेसका यमकान्त भण्डारीविरुद्ध तीन जनाले बागी उम्मेद्धारी दर्ता गराएपछि दाङ क्षेत्र नम्बर ३ कांग्रेसले एक विज्ञप्ती निकाली पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाहीको लागि सिफारिस गरेको हो ।
अध्यक्ष पदका लागि कांग्रेसबाटै पवन राज बुढाथोकी, उपाध्यक्ष पदमा गिरीधारी प्रसाद पौडेल र कोषाध्यक्ष पदमा भोला प्रसाद थापाले बागी उम्मेदवारी भएकोले उनीहरुलाई कारवाहीको लागि सिफारीस गरिएको क्षेत्रीय कांग्रेसले जनाएको छ ।
तीनै जनालाई पार्टीको कुनै पनि पदमा नरहने गरि कारवाही प्रक्रिया अगाडि बढाउन क्षेत्र नंं. ३ कार्यसमितिले दाङ जिल्ला कार्यसमितिलाई सिफारिस गरेको विज्ञप्तीमा उल्लेख छ ।
कांग्रेसको विधि र अनुशासन भन्दा बाहिर गएर उम्मेदवारी दर्ता गराएको भन्दै कारवाहीको लागि सिफारीस गरिएको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।