जाडो समयमा जोर्नी दुख्ने समस्याबाट यसरी बचौँ

जाडोमा बढ्दो चिसोका कारण स्वास्थ्यमा धेरै समस्याहरू हुने गर्छन् । जसमा जोर्नी दुख्ने समस्या एक हो । वास्तवमा जाडोमा तापक्रम घट्दा मांसपेशीहरू तन्कन थाल्छन् । जसका कारण जोर्नी वरपरका नसाहरू फुल्न थाल्छन् । यसले जोर्नीहरूमा कडापन र दुखाइ बढ्छ । जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउन मानिसहरू विभिन्न औषधि, तेल र बामको प्रयोग गर्छन् ।

जाडोमा जोर्नी दुखाइ बढ्नुको कारण

साधारणता, जोर्नी दुखाइका थुप्रै कारण हुन्छन् । बाथ, युरिक एसिड, हड्डीमा चोट लाग्नु, हड्डीको क्यान्सर, आथ्रोइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेर आदिको कारण हाड जोर्नी दुख्ने गर्छ ।

जाडो मौसममा वायुमण्डलीय दबाब न्यून हुनाले जोर्नी तथा मांसपेशीहरू सुन्निने समस्या हुन्छ यसकारण दुखाइ पनि वृद्धि भएर जान्छ । जाडो याममा हात गोडाहरूमा तुलनात्मक रूपमा रक्तसञ्चारमा कमी हुनाले पनि दुखाइ बढ्छ ।

चिसो मौसममा सूर्यको किरण पर्ने समय छोटिँदा शरीरमा भिटामिन–डी को मात्रा कमी हुँदा हाड जोर्नीको दुखाइ बढ्छ । साथै खानपानमा ध्यान नदिँदा तथा खानामा क्यालसियमको कमीले पनि जाडोमा जोर्नी दुखाइको समस्या हुन सक्छ ।

बच्ने उपाय

सबैभन्दा पहिलो कुरा त शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । न्यानो कपडा लगाउने र हिटरले कोठालाई न्यानो बनाउनुपर्छ ।

जाडोमा जोर्नीको समस्याबाट बच्न पारिलो घाममा बस्ने । भिटामिन डी, क्याल्सियम तथा पोषणयुक्त र तातो झोलिलो खाना प्रशस्त मात्रामा खानुपर्छ ।

धेरै चिसोमा मर्निङवाक जानु हुँदैन । घरमा नै सामान्य खालका व्यायामहरू गर्नुपर्छ ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस