पुस १५ देखि चिनी मिल चलाउने तयारी

काठमाडौं । पुस १५ गतेदेखि उखु पेलेर चिनी उत्पादन गर्ने तयारीमा मिल सञ्चालकहरु छन् । सरकारले उखुको न्यूनतम् बिक्री मूल्य तोक्न नसक्दा उखु किसानहरु चिन्तित बनेका छन् ।

मिल चलाउन तोकिएको मिति दुई दिन मात्रै बाँकी हुँदा पनि उखुको बिक्री मूल्य नतोकिँदा अन्त्यमा उद्योगीको चाहनाअनुसार नै मूल्य तोक्ने वातावरण सरकारले सिर्जना गरेको आरोप उखु उत्पादक किसान महासंघको छ । किसानलाई सस्तोमा उखु बिक्री गर्न बाध्य पार्ने गरी सरकारले अन्तिम घडीमा मूल्य तोक्न लागेको र सो मूल्य नमान्ने निर्णय महासंघले गरेको अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

अब, देशभर सरकारको कारण उखु खेती गर्ने वातावरण नभएको भन्दै खेती विस्थापन अभियानमा लाग्ने पनि उनले बताए । मूल्य तोक्नेबारेको छलफलमा किसान प्रतिनिधिलाई तीन पटक काठमाडौं बोलाएर दुःख दिएको तर किसानको हित विपरीत मूल्य निर्धारण गर्न लागिएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।

उखु बेचेको पैसा लिन र उखुको उचित मूल्य पाउन आन्दोलन गर्न पर्ने अवस्थाले किसानलाई खेतीप्रति निरुत्साहित गरेको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए ।

चिनी उत्पादक उद्योगहरुको संस्था नेपाल चिनी उत्पादक संघकाअनुसार पुस १५ गतेबाट यस वर्षको उखु क्रसिङ शुरु हुँदैछ । विभिन्न जिल्लामा रहेका कुल १३ मध्ये यो वर्ष १० वटा चिनी मिलले उखु क्रसिङ गरेको संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए । किसानको उखुको मूल्य निर्धारण नहुँदा मिल सञ्चालक पनि समस्यामा परेको उनले बताए ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस