बिजौरी । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहलगानी आयोजना कार्यान्वयन गर्ने सम्बन्धमा ऋण सम्झतौमा हस्ताक्षर भएको छ । नगर विकास कोष काठमाडौं र बेलझुण्डी खानेपानी उपभोक्ता संस्था बिच विहीबार ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त आयोजनाको ६ करोड १४ लाख ७३ हजार रुपैयाको ऋण सम्झौता कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र बेलझुण्डी खानेपानी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष प्रदीप गौतमबिच त्रिपक्षीय हस्ताक्षर भएको संस्थाका अध्यक्ष प्रदीप गौतमले जानकारी दिए ।
अध्यक्ष गौतमका अनुसार आयोजनाको काम सुरु भइसकेको र निर्माण कम्पनीले पहिलो वर्षमै सम्पूर्ण क्षेत्रमा पाइप लाइन विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेर एकै पटक चार ठाउँबाट काम शुरु भएको छ ।
तुलसीपुर वडा नं. १६, १७, १८ र १९ वडाभित्र रहेका खानेपानी वितरण क्षेत्रमा एक लाख ९७ हजार ४ सय ८३ मिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको गौतमले बताए ।
संस्थाले हाल दाङ जिल्लाको तुलसीपुर–१९ को डाँडीकाट मुहान, रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ६ को बगालेपानी, रिप्ले मुहानको पानीसहित यो वर्षदेखि रुन्टीगढी–८ को गर्वखोलाको झाँक्रीढुंगा मुहानको पानी समेत थप गर्न थालिएको अध्यक्ष गौतमले जानकारी दिए ।