तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले नेपाली जनता हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि आतुर रहेको बताएका छन् । सहित एकता महाधिवेशनमा निर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई तुलसीपुरमा राप्रपा दाङले आयोजना गरेको अभिनन्दन कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘देशमा अहिले गोला वारुद पड्किएको छैन, द्विदेशीय नाकावन्दी छैन, अभिव्यक्ति स्वतन्त्रता रहेकै छ, तर देश समग्रमा नांगो आँखाले देखेको जस्तो सान्त छैन, मुलुक अहिले कुशासन, भ्रष्टाचारले थिलोथिलो परेको छ, भित्रभित्रै यहाँ सबैथोक वर्वाद भैसकेको छ’—सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लिंग्देनले भने, यसका लागि अभिभावकीय भूमिकामा राजसंस्था अपरिहार्य छ । कांग्रेस र कम्युनिष्टहरुले यो मुलुकलाई ३२ वर्षसम्म कहिले लोकतन्त्र, कहिले प्रजातन्त्र त कहिले गणतन्त्रका नाममा नांगै बनाइसकेको उनको अभिव्यक्ति थियो । हेर्दा सामान्य देखिए पनि भित्रभित्रै मुलुक वर्वाद भैसकेको पनि उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा राप्रपाका नवनिर्वाचित उपाध्यक्ष ध्रुव बहादुर प्रधानले संघीयता र गणतन्त्रका नाममा यहाँको धार्मिक आस्था र संस्कृति भत्किएको बताउँदै अब त्यसलाई जोगाउनका लागि राप्रपाको आन्दोलनमा जोडिन पनि सहभागीहरुलाई आग्रह गरे । विश्वमा एउटा मात्र हिन्दु राष्ट्र नेपाल रहेको स्पष्ट पार्दै लोकतन्त्रका नाममा यो पनि लुटिएको उनको अभिव्यक्ति थियो । उपाध्यक्ष प्रधानले शान्तिपूर्ण आन्दोलनबाट राप्रपाले आफ्ना ऐजेण्डाहरुलाई अनुमोदन गराउने पनि जिकिर गरे ।
राप्रपा दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नवनिर्वाचित महामन्त्री डा. धवल सम्सेर जवराले यस अघिको नेतृत्वले सहि नेतृत्व दिन नसकेकोले नयाँ नेतृत्व आएको उल्लेख गर्दै वर्तमान नेतृत्वले राप्रपाका ऐजेण्डालाई जनताबाट अनुमोदन गराउने बताए ।
कहिँकतै पनि नविक्नेहरु राजनीतिमा आउने प्रबृत्तिको अन्त गर्न आग्रह गर्दै उनले अव शिक्षित वर्ग राजनीतिमा आउनुपर्ने बताए । काम गर्न नसक्ने व्यक्ति अब नेतृत्वमा आउन नसक्ने बताउँदै जनताको सार्वभौम हकअधिकार सुनिश्चित गर्न र मुलुकलाई भ्रष्टाचाररहित बनाउन राप्रपाको विकल्प नभएको पनि उल्लेख गरे ।
अर्का महामन्त्री भुवन पाठकले सिंहदरबारको अधिकार संघीयताका नाममा गाउगाउ पुर्याउने भनिए पनि त्यो अनुभूति जनतालाई हुन नसकेको बताए । ‘पहिले सिंहदरबारमा मात्रै सिंह हुन्थे, संघीयतापछि सयौं सिंहहरु स्थानीय तहसम्म पनि लुट्न पुगिसकेका छन्’, महामन्त्री पाठकले भने । अहिले मुलुकमा समाजवाद स्खलित भएको, माओवाद समाप्त भैसकेको बताउँदै न्यायालय पनि भागवण्डाका कारण न्यायधिसलेनै न्याय माग्नुपर्ने अवस्था आएको पनि पाठकले बताए ।
राप्रपा केन्द्रीय सदस्य तथा स्थानीय नेता दामोदर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्रपाका लुम्विनी प्रदेश अध्यक्ष प्रदिप उदय, राप्रपा नेता प्रेम बहादुर भण्डारी, केन्द्रीय सदस्य मिना स्वर्णकार लगायतले अभिनन्दन मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष लिंग्देनलाई राप्रपा जिल्ला अध्यक्ष बस्नेतले अभिनन्दन पत्रले सम्मान गरेका थिए भने अध्यक्ष लिंग्देनले अन्य नवनिर्वाचित पदाधिकारीहरुलाई अभिनन्दन गरेका थिए । कार्यक्रमको सहजीकरण राप्रपा युवा नेता त्रिभुवन थापाले गरेका थिए ।
कार्यक्रममा एक सयभन्दा बढीले अन्य राजनीतिक दल परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा विभिन्न थारु संस्कृतिका गित नृत्यहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा राप्रपाका पुराना नेता तिलक बहादुर बस्नेतको जीवन चित्रण पुस्तकको विमोचन गरिएको थियो ।